Kath Khabar
मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

                काठमाडौं, असार २० । मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । हाल देशभर  सामान्य देखि पूर्ण बदली रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघ-गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update