Kath Khabar
डिजाइन गलत भन्दै रोकियो ग्वार्कोमा बन्दै गरेको फ्लाइओभरको काम

 

                ललितपुर, असार २१ । ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाई ओभर निर्माणको काम रोकिएको छ । आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो।

निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले फ्लाइओभर निर्माणक्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्राविधिक समस्या पहिचान र निराकरण नगरी निर्माण अगाडि बढाउन सकिँदैन। भारतबाट प्राविधिक बोलाएर समस्या पहिचान र निराकरण प्रयास भइरहेको छ।”

उहाँका अनुसार यसअघि निर्माण कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदन र डिजाइनमा समस्या देखिएको हो। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो। यस मोडेलअनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्वे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ। महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न सडक विभागको प्राविधिक टोलीले पनि काम गरिरहेको छ। अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि सोसम्बन्धी अन्य काम भइरहेको उहाँको भनाइ छ।

सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको निर्माण हुनेछ। निर्माणपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्ने छन् भने पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्ने छन्। फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुने छ। फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स छ मिटर हुनेछ।

सो फ्लाइओभरको उचाइ ५.५ मिटरको हुने छ। ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको -याम निर्माण गरिनेछ। चक्रपथको मुख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्ने छन्।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष–समानान्तर (जेभी) ले ठेक्का पाएको छ। उक्त फ्लाइओभर १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपियाँ लागतमा निर्माण भइरहेको छ।  (गोरखापत्र दैनिक)

#ग्वार्कोफ्लाइओभर

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update