
काठमाडौं, असार २२ । अभिनेता सारुक ताम्राकारको दुःखद निधन भएको छ । काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा ताम्राकार मृत फेला परेका हुन् ।
३१ बर्षीय सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । बिहिबार बिहानसम्म सारुक फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । बेलुकी पार्टीमा पुगेका बाबुआमालाई आफू पनि पार्टीमा आउने जानकारी गराएका थिए । बेलुकी सबैसँग राम्रोसँग छुटेका थिए । फिल्मको छायांकनमा पनि निकै राम्रोसँग काम गरिरहेका सारुकले बेलुकी अचानक किन त्यस्तो निर्णय लिएछन् हामी अचम्मित छौ, फिल्म ‘ह्यासट्याग माया’का प्रोडक्शन डिजाइनर अरुण रेग्मीले भने। सारुकले उक्त फिल्मको ४५ प्रतिशत छायांकन सकाएका थिए ।
सारुकले ‘रानी’, ‘इन्टु मिन्टु लण्डनमा,’ ‘मेरी मामु’, ‘नमारी बाँचे’ जस्ता चर्चित चलचित्रमा अभिनय गरेका छन् ।’ उनले ‘ह्याप्पी न्यू इयर’ र ‘थर्स्टी’ जस्ता सर्ट फिल्ममा पनि काम गरेका छन् ।
ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।