Kath Khabar
नेपाल नेत्रज्योति संघ र डाक  फाउन्डेसनबिच सम्झौता, ८ हजारको निःशुल्क शल्यक्रिया हुने



                 काठमाडौं, असार २४ । नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् ।

फाउन्डेसनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरूको निशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकहरूको निःशुल्क आँखा उपचार गर्नेछ ।

संघ र फाउन्डेसनका बिचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरताको स्वरुप यो वर्षका लागि करिब ८ हजार बिरामीहरूको निशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो । आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ र कोही पनि नागरिकहरूले आर्थिक अभावकै कारण दृष्टिविहीन भएर बस्नु नपरोस् भनेर संघले विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा देशैभरी निःशुल्क शिविरहरू संचालन गरिरहेको बताउँछन् संघका महासचिव भरतबहादुर चन्द ।

डाक फाउन्डेसनको सहयोगमा अहिलेसम्म करिब पाँच लाख बिरामीहरूको आँखा जाँच गरी ५२ हजार बिरामीहरूको निशुल्क शल्यक्रिया समेत गरिएको बताउँछन् संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाह । अस्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट संचालन गरेको फाउन्डेसनले हाले विश्वका करिब १० देशका गरिबीको रेखामुनि रहेका नागरिकहरूलाई विभिन्न स्वास्थ्य सेवाहरु निशुल्क रुपमा प्रवाह गर्न अनुदान दिइरहेको छ । विश्वका पाँच लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको  बताउँछन् फाउन्डेसनका संस्थापक डेभ रिकार्ड ।

सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति संघको योजनामा डाक फाउन्डेसनले महत्वपूर्ण सहयोग पुर्याइरहेको बताउँछन् संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्र । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिकहरू आर्थिक अभावकै कारण आँखा उपचारबाट बञ्चित छन् त्यस्ता नागरिकहरुलाई सेवा प्रवाह गर्न डाक फाउन्डेसन जस्ता दातृ निकायहरुको सहयोग महत्वपूर्ण छ’ मिश्रले भने ।

नेपाल नेत्र ज्योति संघले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update