
काठमाडौं, असार ४ । लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउनसक्ने बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट संचालनमा ल्याएको छ ।
बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतूले अस्पतालले अलग्गै युनिट नै तयार गरी संचालनमा ल्याएको हो । नर्भिक अस्पतालले बाढीपहिरोमा परी घाइते भएकाहरुका लागि संचालनमा ल्याएको युनिटमा डेडिकेटेड शैया, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिम नै तयार गरेको छ । यो टिमले अनवरतरुपमा बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचार गर्नेछ ।
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपका कारण हुनसक्ने मानवीय क्षतिलाई सकेसम्म कम गर्ने सरकारको उद्देश्यमा साथ दिंदै नर्भिकले डेडिकेटेड युनिट संचालनमा ल्याएको हो । ‘यो युनिटमा बाढीपहिरोमा परी घाइते भएकाहरुको स्तरीय उपचार हुनेछ ।’ उहाँले भन्नुभयो– ‘बाढीपहिरोमा परी घाइते भएकाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हौं ।’
कोभिड-१९ को दोश्रो लहरका कारण बन्द भएको नर्भिकको ओपिडी सेवा आइतबारदेखि संचालनमा आइसकेको छ । यस्तै, अपरेसन थिएटर समेत पूर्ण क्षमतामा संचालनमा आइसकेको छ ।