
काठमाडौं, असार ४ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा नौ जना पुरुष, तीन जना महिला, दुुई जना बालक र एक जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा तीन जना, डोटीमा तीन जना, सप्तरीमा एक जना, काभ्रेमा एक जना, गोरखामा एक जना, जुम्लामा एक जना, अर्घाखाँचीमा एक जना, पाल्पामा एक जना, कास्कीमा एक जना, कालिकोटमा एक जना र बाजुरामा एक जना रहेका छन् ।
बाढी, पहिरो र डुबानमा परी १६ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, चार जना महिला र दुुई जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा छ जना, म्याग्दीमा तीन जना, जुम्लामा दुुई जना, डोटीमा दुई जना, कास्कीमा एक जना, स्याङजामा एक जना र सल्यानमा एक जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढी पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, पाँच जना महिला, दुई जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा १७ जना, जाजरकोटमा सात जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट ८ जना गरी एक सय दुुई जनाको उद्दार गरिएको छ । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान र दैलेख लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।
बाढीको कारण एक सय ९९ वटा घर डुबानमा परेका छन् । एक सय ३८ वटा घर, ११ वटा गोठ, १२ वटा पुल, एक वटा विद्यालय र सात वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय २८ वटा घरका एक हजार सात सय ६० जना मानिस विस्थापित भएका छन् भने पाँच सय १६ वटा पशु चौपायको मृत्यु भएको छ । साथै बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका ईलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जानकारी दिएको छ ।