Kath Khabar
विमानस्थलबाट एक सय किलो सुन बरामद : एजेन्टसहित छ जना पक्राउ

 

                काठमाडौं, साउन ४। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरेर बाहिर निकाल्दै गर्दा बरामद भएको झण्डै एक सय किलो सुन प्रकरणमा संलग्नताको आरोपमा एक जना एजेन्टसहित ६ जना पक्राउ परेका छन् ।

तस्करले भन्सारको सामान बनाएर ल्याएको अबैध सुन प्रकरणको अनुसन्धानका क्रममा राजस्व अनुसन्धान विभागले ५ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाको पहिचान खुलाइएको छैन । उक्त प्रकरणमा मुछिएका व्यक्तिको खोजी जारी रहेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । फरार व्यक्तिको खोजी भइरहेको तथा तथ्य खुल्न बाँकी रहेको उनले बताए।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update