Kath Khabar
नवलपरासीमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु

 

                नवलपरासी, साउन  १० ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका-६ मा जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली-६ माझडाँडाका ९९ वर्षीय लीला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए । उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ ।  

जङ्गली च्याउ खाएका मध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचार पछि निको भएका छन् । बिरामी भएका लीला र उमा कुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । 

स्थानीय नेत्रबहादुर सारुले भने, “उपचारका क्रममा मंगलबार राति उमा कुमारीको अस्पतालमा नै मृत्यु भएको हो । लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको हो ।”

बिरामी भएका अन्य ३ जना स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि निको भएर घर फर्किएको स्थानीय सारुले बताए । गत वर्ष पनि जङ्गलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जङ्गलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताइन् ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update