Kath Khabar
सामाजिक सञ्जालमा भाइरल बनेको सुनको बुलेट मोटरसाइकल

 

                 काठमाडौं, साउन १२ ।  सामाजिक सञ्जाल (फेसबुक) मा एउटा पँहेलो रंगको मोटरसाइकलको भिडियो भाइरल छ । त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब १ सय केजी सुनबारे अनुसन्धान भइरहँदा सो मोटरसाइकलबारे हजारौंले प्रतिक्रिया जनाएका छन् ।

सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले चेकजाँच गरिरहेको र ‘सुन’को जस्तै देखिने सो मोटरसाइकल भारतबाट नेपाल आएको छ । भारतको आन्द्र प्रदेश-१३६९ नम्बरको सो बुलेट मोटरसाइकल भन्सार तिरेर काठमाडौं तर्फ लागेको सशस्त्र प्रहरी बलका अधिकारीहरुले बताएका छन् । मोटरसाइकल चालकले दैनिक २ सयको दरले १ हजार नगद भन्सार कार्यालय वीरगञ्जमा बुझाएका हुन् ।

तर, सो मोटसाइकल सुनको जस्तै देखिए पनि सुनको होइन । सशस्त्र प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको बाहिरी भाग पित्तलको भएको थाहा भएको छ । ‘भारतमा २० हजारमा पित्तलको कभर पाइने रहेछ’ सशस्त्र प्रहरी बलका एकजना अधिकृत भन्छन् ‘सुनको जस्तो देखेर चेकजाँच गरेका थियौं, मोटरसाइकल काठमाडौं तिर लागेको छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update