काठमाडौं, साउन १४ । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप एक व्यक्ति पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ।
गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेर उक्त होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो । छिरिङ नेपाली मूलका बेल्जियम नागरिक हुन्।
विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जनाएको छ । त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो।
योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।