काठमाडौं, साउन १४ । भारतको पूर्वीराज्य मणिपुरमा विगत ३ महिना देखि जारी जातीय हिंसाबाट विस्थापितहरू नेपाल आउन थालेका छन् । करिब १ सयजना मणिपुरवासी नेपाल आएको प्रतिवेदन सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएका छन् । मणिपुर हिंसा भारतीय राजनीतिको केन्द्रमा छ ।
नेपालको पूर्वीनाका हुँदै मणिपुरका बासिन्दा नेपाल आएका छन् । त्यसमध्ये धेरै जसो नेपाली भाषी छन् । ‘करिब १ सयजना नेपाल भित्रिएको भनेर सुरक्षा निकायबाट रिपोर्ट आएको छ,’ गृहका एक अधिकारी भन्छन्, ‘सीमानाकामा निगरानी बढाउन भनेका छौँ ।’ नेपालमा आउनेहरूमा धेरैजसो यहाँ आफन्त भएका भारतीय छन् ।
गत ३ मे देखि मैतेई र कुकी समुदायबीच चलेको हिंसाका कारण मणिपुर अशान्त र तनावग्रस्त छ । एक समुदायले अर्को समुदाय माथि आक्रमणका घटनाले सिंगो राज्यमा सुरक्षा व्यवस्था खस्किए पछि त्यहाँका बासिन्दा विस्थापित भइरहेका छन् । त्यसमध्ये कतिपय नेपाल आइपुगेका छन् ।
मणिपुरमा करिब ५० हजार नेपाली भाषी रहेको आकलन गरिएको छ । नेपाली भाषीमाथि कुनै पनि हिंसा नभए पनि लामो समयसम्म त्यहाँ जातीय हिंसा हुँदा त्यहाँका बासिन्दाहरू अस्थायी रूपमा विस्थापित हुन थालेका हुन् । मणिपुर नेपालको सीमाबाट करिब १ हजार किलोमिटर टाढा छ ।
खुला सीमाका कारण मणिपुर हिंसाका कारण विस्थापित भएकाहरू नेपाल आउने सम्भावना भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई बताउँछन् । मणिपुर हिंसाले नेपालमा पार्न सक्ने असरबारे आफूहरू सचेत रहेको उनी बताउँछन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेश बाँस्तोला मणिपुर हिंसाका कारण उताका बासिन्दा नेपाल आउँदा सुरक्षा जोखिम बढ्न सक्ने भएकाले त्यस्ता व्यक्ति माथि निगरानी हुने बताउँछन् । ‘सीमामा निगरानी बढाइएको छ,’ उनी भन्छन्,‘त्यहाँका कति बासिन्दा नेपाल आए भन्ने ठ्याक्कै विवरण भने छैन ।’