ललितपुर, साउन १४ । ५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी गरेको जाहेरी सहित जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेर पीडितले सुर्जमान माली विरुद्ध मानव बेचबिखन तथा ओसार पसार ऐन, २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताएका छन् । आरोपमा पक्राउ परेका माली विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
ललितपुर प्रहरीका अनुसार, पीडितले मालीसँगै धापाखेलका उमेश शाही विरुद्ध पनि जाहेरी दिएकी छिन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिम देखि ०७६ साउनसम्म पटक पटक बलात्कारमा परेकी थिइन् । मालीले शुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएको पीडितको भनाइ छ । तर, जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि हदम्याद नाघिसकेको भन्दै मानव बेचबिखन विरुद्धको कसुरमा मात्रै जाहेरी परेको हो ।
एसएसपी शाह भन्छन्, ‘तत्काललाई अनुसन्धान गर्दै जानका लागि मानव बेचबिखन सम्बन्धी कसुरमा जाहेरी लिएका छौं, अनुसन्धानका क्रममा थप खुले अनुसार गर्छौं ।’
माली माथि थप अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुर हाजिर गराएर आइतबार हिरासतमा राख्न अनुमति लिने तयारी छ । यो घटनाकी पीडितले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ ।