Kath Khabar
देशभर बाढी, पहिरोको प्रकोप कायम नै

काठमाडौं, असार ५ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि असार पाँच गते अर्थात आज शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, चार जना महिला, दुुई जना बालक र एक जना बालिका रहेका छन् ।  तीमध्ये सिन्धुपाल्चोकमा तीन जना, डोटीमा तीन जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा एक, एक जना रहेका छन् ।   

बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, चार जना महिला, एक जना बालक र दुई जना बालिका रहेकाछन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा पाँच जना, म्याग्दी र डोटीमा तीन-तीन जना, जुम्लामा दुुई जना, कास्की, स्याङजा, चितवन र सल्यानमा एक-एक जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ५ जना महिला र दुई जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा आठ जना, दाङमा चार जना र कञ्चनपुरमा तीन जना गरी एक सय नौ जनाको उद्दार गरिएको छ । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update