काठमाडौं, साउन १६ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति काठमाडौं उपत्यकासहित बाग्मतीका केहि स्थानमा ठूलो पानी परेको थियो । सिन्धुपाल्चोकको धापमा भारी वर्षा मापन भएको छ। त्यसैले मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
हाल काठमाडौं उपत्यकाको बागमतीको सहायक नदी मनोहरा, हनुमन्ते र अन्य साना नदीमा जलसतह बढ्दो रहेको छ। मनोहरा, बालकुमारी जलमापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेकाले मनोहरा, हनुमन्ते आसपासका डुबान हुने बस्तीमा रहने र नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
यसैगरी आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।