Kath Khabar
बत्ती किन बेला-बेलामा गइरहेको छ ?

 

                   काठमाडौं, साउन १६ ।  बर्षायाम शुरू भएसँगै बिजुली उत्पादन पनि बढेको छ। ऊर्जा उत्पादकहरूले ५०० मेगावाट बिजुली खेर गइरहेको बताएका छन्। 

तर पनि काठमाडौं उपत्यका सहित देशभरका विभिन्न स्थानहरूमा बिजुली झ्याप्प झ्याप्प जाने 'ट्रिपिङ' समस्या बढेको छ। पटक पटक बत्ती गइरहन्छ। फेरि आउन १-२ घण्टा नै लाग्ने गरेको उपभोक्ताहरूको गुनासो छ। 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई प्रणालीमा प्राविधिक समस्या आइरहने भएकाले ट्रिपिङ समस्या बढेको बताउँछन्। 

'खास गरी रातको समयमा सिस्टममा गडबढी भइरहेको छ। बर्षायाम भएका कारण कतै पहिरो जान्छ, कतै रूख ढल्छ। एक ठाउँको तार रूख ढलेर चुडियो भने पनि समस्या भइहाल्यो, कतै आगलागी पनि हुन्छ,' उनले भने। 

मंगलबार पनि पाटन क्षेत्रमा प्राविधिक समस्याका कारण विद्युत आपूर्तिमा केही समय समस्या देखिएको उनले बताए। यस्तो समस्या देशका अन्य ठाउँमा पनि भइरहेको छ। 'बर्षायाममा देशभर यस्ता समस्या आइरहन्छन्,' उनी भन्छन्, 'प्रकृतिले निम्त्याउने समस्या कसैले रोक्न सक्दैन।'

ट्रान्समिसन लाइनको क्षमता कम हुँदा पनि विद्युत आपूर्तिमा समस्या देखिने गरेको छ। ४०० केभी क्षमताको लाइन चाहिने स्थानमा पनि १३२ केभी देखि २२० केभी क्षमताका छन्। जसले गर्दा पनि ट्रान्समिसन लाइनमा ओभरलोडिङ हुने गरेको प्राधिकरणले जनाएको छ।

ठाउँ-ठाउँमा ट्रान्सफर्मरमा आउने समस्याका कारण पनि बिजुली आपूर्तिमा समस्या देखिने गरेको छ। भोल्टेजमा फेरबदल भइरहँदा पनि पावर प्लान्टमा समस्या देखिने र समग्र देशकै प्रणालीमा असर पुग्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update