Kath Khabar
फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने, करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान

 

                काठमाडौं, साउन १६ ।  नेपालको पहिलो र एसियाको दोस्रो ५ सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयको रूपमा विकास गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले केन्द्रलाई जलविद्युत् संग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ। ऐतिहासिक जलविद्युत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिनेछन्।

काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिपलाइन, पिकनिक स्पट, पुस्तकालय, बाल उद्यान लगायतका संरचना निर्माण गरिने प्राधिकरणले जनाएको छ। जलविद्युत् केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी संग्रहालयको रूपमा विकास गरिनेछ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। केन्द्रको स्वामित्वमा  ३२४ रोपनी जग्गा  छ । प्राधिकरणका अनुसार पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १४६ रोपनी जग्गा प्रयोग गरिनेछ।  

प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रूपमा विकासका कार्यहरू अगाडि बढाइने बताए। फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो। 

तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको जलविद्युत् केन्द्रबाट राजपरिवार, राणा परिवार लगायत विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । झन्डै ४ वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो ।

केन्द्र ०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो। तर, त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो। केन्द्रको  मर्मत सम्भार गरी पुनः ०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update