
काठमाडौं, साउन १६ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित बनेका वरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह न्याय माग्दै रिले अनसनमा बस्नुभएको छ । सहकारीमा २ करोड ६० लाख रुपैयाँ फसे पछि रकम फिर्ताको माग गर्दै उँहाहरु सोमबार काठमाडौंको माइतीघर मण्डलमा अनशन बस्नुभएको हो ।
सहकारीमा पैसा फसेपछि आफ्नो विजोग भएको भन्दै चैत्यदेवीले दुखेसो पोख्नु भएको छ ।’ सिंहले सहकारीमा आफ्नो ६३ लाख फसेको जानकारी दिनुभयो । उँहाले सरकारसँग न्यायको माग गर्नुभएको छ ।
त्यस्तै, बसुन्धरा भुषालले प्रधानमन्त्री देखि मन्त्रीसम्मलाई भेटेर न्याय माग्दा पनि सुनुवाई नभएको गुनासो पोख्नु भयो । ३ महिना देखि आफू बिरामी रहेको बताउँदै उँहा भन्नुहुन्छ, ‘हामी बाध्यताले अनसन बसेका हौं । हामी न्याय माग्न कहाँ मात्र गएनौं । तर, सुनुवाई भएको छैन, मालिकहरुको सबै सम्पत्ति जफत गरेर पीडितहरुलाई बाँड्न सरकारसँग अनुरोध गर्छु।'
सोही सहकारीमा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको १५ लाख रुपैयाँ पनि फसेको छ । उक्त फाउन्डेसनबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सहकारीमा रकम फसेपछि सो पुरस्कार हुन सकेको थिएन । यस वर्ष २ वर्षको पुरस्कार एकसाथ वितरण गरिँदैछ ।