1690952834.jpg)
विराटनगर, साउन १७ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लालबहादुर विश्वकर्मालाई उच्च अदालत, विराटनगरले सफाइ दिएको छ । न्यायाधीशद्वय विपुल न्यौपाने र मिलन कुमार राईको संयुक्त इजलास मार्फत उनले सफाई पाएका हुन् । यस मुद्दामा रास्वपा प्रतिनिधि सभा सदस्य सोभिता गौतमले समेत वकालत गरेकी थिइन् ।
लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । जिल्ला अदालतको फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
विश्वकर्मासँग तीन करोड १४ लाखभन्दा बढी विगो जरिवाना माग दाबीसहित अभियोग पत्र पेश भएको थियो । उक्त मुद्दामा कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्च अदालतले सफाइ दिएको छ ।
इटहरी-२० स्थित सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा गहना बनाउने लालबहादुरलाई अदालतले ठगी गरेको भन्दै ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगीको अर्को मुद्दामा ७० हजार जरिवानासहित डेढ वर्ष कैद तोकेको थियो । उनी आठ महिनादेखि सुनसरीको झुम्का कारागारमा थिए ।
कालीगढ मात्र रहेका लालबहादुर ज्वेलर्स सञ्चालकले भने अनुसार रकम बुझेको हस्ताक्षर गरेका कारण उनी पनि अनुसन्धानमा तानिएका थिए । सोहीक्रममा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।