
काठमाडौं, साउन १७ । काठमाडौंका एक व्यापारीले घरको आठौँ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। ५५ वर्षीय सञ्जय गुप्ताले आठौँ तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन्।
मंगलबार दिउँसो साढे १ बजेतिर घटना भएपछि उनलाई तत्कालै वीर अस्पताल लगिएको थियो। उनको अस्पतालमै मृत्यु भएको थियो। उनको परिवार लामो समय देखि कपडाको व्यवसाय गर्दै आएको खुलेको छ।
मंगलबार दिउँसो करिब १ बजेतिर गुप्ताले काठमाडौंको मासागल्लीमा भाडामा दिएको घरमा पुगेर आत्महत्या गरेका थिए। उनले त्यो घर केही समयदेखि भाडामा दिएको देखिएको छ। उनी कहिले काँही उक्त घरमा जाने गरेका थिए।
‘दिउँसो घरमा पुगेको १५/२० मिनेटमा नै हाम फालेको बुझिएको छ,’ एक प्रहरी अधिकृतले भने। उनको परिवार भने बालुवाटारमा बस्दै आएको खुलेको छ।
घटनास्थलबाट प्रहरीले कुनै पनि ‘सुसाइड नोट’ फेला पारेको छैन। गुप्ताले बोक्दै आएको मोबाइल लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।