
काठमाडौं, साउन २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भित्रिएको ठूलो परिमाणको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको जानकारी दिए । एसपी थापाको नेतृत्वमा अनुसन्धान शुरू भएको छ, आवश्यकता अनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुन्छ उनले भने । आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो ।
विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निर्णय लिएको बताएका थिए । हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट ब्रेक शु भित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन गत साउन २ गते बरामद भएको थियो । भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजश्व विभागले बरामद गरेको थियो ।
यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो । जसमध्ये १ जनालाई हाजिर जमानीमा छाडेको थियो । यो प्रकरणमा राजश्व छली मात्रै नभएर संगठित अपराध र अन्तदेशीय अपराध भएको भन्दै अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने माग भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको भेटमा यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिने छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री प्रचण्डले अनुसन्धानको जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए ।