काठमाडौं, साउन २३ । काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा गएराति देखि भारी वर्षा भइरहेको छ ।
भारी वर्षाको कारण वाग्मती, विष्णुमती, मनहरा, कर्मनाशालगायतका नदीहरूको जलस्तर माथि आइपुगेको छ । नदी किनारका बासिन्दालाई सुरक्षितरूपमा बस्न प्रहरी प्रशासनले अनुरोध गरेको छ । काठमाडौँमा बिहान ६ बजेपछि वर्षा झनै बढेको छ ।
विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह सतर्कता बिन्दुमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
त्यसैगरी दाङको लमही, भालुबाङ, कुसुम र आसपास अति भारी वर्षा भएको छ । उक्त क्षेत्रमा भएको अति भारी वर्षाका काराण पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ । यसका सहायक नदीहरूको जलसतह एक्कासी बढी आकस्मिक बहाव हुनसक्ने भएकाले नदी तटिय क्षेत्रमा बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।