
काठमाडौं, साउन २४ । यसपालि मनसुन शुरु भएपछि पहिलो पटक एकसाथ देशभर वर्षा भएको छ । अस्तिराति देखि हिजोसम्म देशभर वर्षा भएको थियो ।
यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो । यसपालि गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो ।
मनसुनको शुरुवातमा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति हुने गरी केही दिन ठूलो पानी परेको थियो भने भित्रिएको १० दिनपछि मात्रै मनसुन देशभर सक्रिय भएको थियो ।
यसबीचमा पहाडी क्षेत्रमा पानी परिरहे पनि तराई मधेशमा पर्न सकेको थिएन । तर, अस्ति राति देखि हिजोसम्म मधेश प्रदेश सहित देशभर पानी परेको छ । वर्षाका कारण तराई मधेशमा डुबान समेत भएका छन् । यस्तै, बाढी समेत आयो ।
पहाडी जिल्लामा पनि बाढी पहिरोले नोक्सानी गरेको छ । पहिरोमा परेर मकवानपुर, सर्लाही र धुनषामा गरी ४ जनाको ज्यान गएको छ । ७ जना बेपत्ता छन् । त्यस्तै सर्लाहीमा २ र मकवानपुर तथा धनुषमा १/१ जनाको ज्यान गएको हो ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज धेरै ठाउँमा हल्का देखि मध्यम वर्षा हुनेछ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १/२ ठाउँमा भने ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।
आज अस्ति राति र हिजोको जस्तो लगातार ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाइ छ । तर, बाढी पहिरोको जोखिम भने कायमै छ ।
हिजो र अस्तिको पानीले गलेका जमिनमा पहिरोको जोखिम रहेको र नदी तथा खेलामा पनि जलसतह बढेकाले मध्यम वर्षा हुँदा पनि बाढी आउन सक्ने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ ।