Kath Khabar
काठमाडौं महानगरपालिकाका प्रथम मेयर पिएल सिंहलाई भेट्न पुगे मेयर बालेन शाह

 

                 काठमाडौं, साउन २४ ।  काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहलाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अस्पताल पुगेका छन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत सिंहलाई भेट्न मेयर शाह मंगलबार अस्पताल पुगेका हुन्। सिंह झण्डै डेढ सातादेखि पेटको रोगको उपचारका लागि अस्पतालमा छन्।

अस्पताल पुगेर मेयर शाहले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। त्यसक्रममा मेयर शाहले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफूले केही सहयोग गर्नुपर्छ कि भनेर जिज्ञाशा राखेका थिए। त्यसक्रममा सिंहले चिया नखाने शाहलाई चिया खाएर जान आग्रह गरेका थिए। अस्पताल स्रोतले भन्यो, ‘उहाँले मेयर शाहलाई कमजोर आवाजमा चिया खाएर जान आग्रह गर्नुभयो। चिया नखाए कारबाही हुन्छ भन्नुभएको थियो।’

उनलाई लामो समयसम्म आबद्ध पार्टी कांग्रेसबाट सोधपुछ र भेट गर्न कोही नपुगे पनि मेयर शाह मंगलबार अचानक अस्पताल पुगेका हुन्। सिंह २०४७ सालको संविधान पछिका काठमाडौं महानगरपालिकाका प्रथम मेयर हुन्। कांग्रेससँग झण्डै ६ दशक लामो सम्बन्ध रहेका सिंहले पञ्चायतकाल र २०४७ को जनआन्दोलनताका अन्तर्राष्ट्रिय जगतसँग सम्पर्क र समन्यवकारी भूमिका खेलेका थिए। उनी विगत ८ वर्षदेखि गुमनाम छन्।

२०६२/०६३ को आन्दोलन पछि ब्यूँताइएको संसद्‌मा उनी सहित केवल २ जना सदस्यले नैतिक मूल्यका कारण शपथ लिन अस्वीकार गरेका थिए। त्यसमा एकजना कृष्णप्रसाद भट्टराई र अर्का सिंह थिए। दुबैले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता बाहिरबाट लादिएको एजेन्डा भन्दै कांग्रेससँगको सम्बन्ध तोडेका थिए। अस्पताल स्रोतका अनुसार उनको अल्सरको अप्रेशन गरिएको र स्वास्थ्यमा क्रमिक प्रगति भइरहेको छ। उनी अझै केहीदिन अस्पतालमा रहने छन्।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update