Kath Khabar
टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर (पूर्णपाठ)


                      काठमाडौं, साउन ३२ । सर्वोच्च अदालतले रेशम चौधरीसहित टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा आठजनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको उल्लेख गरिएको छ । बुधबार सार्वजनिक गरिएको पूर्णपाठमा सर्वोच्चले फौजदारी न्याय प्रणालीदेखि चौधरीको घटनामा संलग्नताबारे पनि विस्तृत व्याख्या गरेको छ ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी मिनाहा गरेका थिए । तर, सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकापुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।

 ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलामा भनिएको छ ।

‘राजनीतिक वा अन्य कुनै पनि कारणबाट कसुरदारले सोबाट सिर्जित दायित्वबाट उन्मुक्ति प्राप्त गर्न सक्ने भनी मानिएमा संवैधानिक शासन व्यवस्थाअन्तर्गत नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने प्रमुख दायित्व भएको राज्य आफ्नो कर्तव्यबाट च्यूत हुन गई अपराधीहरूको संरक्षकका रूपमा रूपान्तरित हुन पुग्छ ।’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update