Kath Khabar
देशभर बाढी पहिरोको प्रकोप श्रृंखला हालसम्म १८ जनाको मृत्यु, १९ जना घाइते, २१ जना अझै बेपत्ता

काठमाडौं, असार ६ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आइतबार दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ११ जना पुरुष, चार जना महिला, दुई जना बालक र एक जना बालिका रहेका छन् ।  तीमध्ये सिन्धुपाल्चोकमा चार जना, डोटीमा तीन जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा एक, एक जना रहेकाछन् ।   

बाढी, पहिरो र डुबानमा परी १९ जना घाइते भएका छन् । तीमध्ये १२ जना पुरुष, चार जना महिला, एक जना बालक र दुई जना बालिका रहेकाछन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा पाँच जना, म्याग्दी र डोटीमा तीन, तीन जना, जुम्ला र कास्कीमा दुुई, दुुई जना, स्याङजा, चितवन, सल्यान र दार्चुलामा एक, एक जना रहेकाछन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, पाँच जना महिला र दुुई जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा आठ जना, दाङमा चार जना र कञ्चनपुरमा तीन जना गरी एक सय नौ जनाको उद्दार गरिएको छ । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण बझाङ,  कालिकोट, बैतडी लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।

बाढीको कारण दुुई सय १० ओटा घर डुबानमा परेका छन् । दुुई सय पाँच ओटा घर, ११ वटा गोठ, १८ वटा पुल, तीन ओटा विद्यालय र आठ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सात सय ४८ ओटा घरका तीन हजार दुई सय ५८ जना मानिस विस्थापित भएका छन् भने छ सय २९ ओटा पशु चौपायको मृत्यु भएको छ । 

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जानकारी दिएको छ । 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update