Kath Khabar
बाढीपहिरो र डुबानमा परी हालसम्म २० जनाको मृत्यु, आठ सय छ जनाको उद्दार

काठमाडौं, असार ७ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ जना पुरुष, चार जना महिला, दुई जना बालक र एक जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा तीन जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा एक एक जना रहेका छन् ।  

बाढी तथा पहिरोमा परी आठ सय छ जनाको उद्दार गरिएको छ । तीमध्ये मनाङमा छ सय ५६ जना, सिन्धुपाल्चोकमा एक सय २३ जना, सल्यान र लमजुङमा आठ/आठ जना, दाङ र गोरखामा चार/चार जना र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्दार पश्चात उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएका छन् । तीमध्ये १३ जना पुरुष, चार जना महिला, एक जना बालक र दुुई जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा पाँच जना, म्याग्दी र डोटीमा तीन, तीन जना, जुम्ला र कास्कीमा दुुई/दुुई जना, स्याङजा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा एक/एक जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, पाँच जना महिला र दुुई जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण जुम्ला, कास्की, बैतडी लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।

बाढीको कारण दुुई सय १० वटा घर डुबानमा परेका छन् । दुुई सय छ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, तीन वटा विद्यालय र आठ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सात सय ४८ वटा घरका तीन हजार दुुई सय ५८ जना मानिस विस्थापित भएका छन् भने छ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update