
काठमाडौं, असार ८ । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गर्नुभएको मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहनु भएकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभयो ।
नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गर्नुभएको थियो । हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाउनुभएको कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उहाँको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ ।
हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उहाँको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उहाँको उपचार गरिरहेको छ । अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहनुभएकी वहाँ चलमलाउन थाल्नुभएको छ । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थाल्नुभएको छ । उहाँले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहनु भएको छ । उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको हुनुभएको छ । ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ ।’ उपचार संलग्न चिकित्सकहरु भन्नुहुन्छ । क्रमशः अवस्थामा सुधार भइरहेको छ ।’ उहाँँले सोझै खाना खान भने सक्नुभएको छैन । पाइपमार्फत खाना दिइने गरिएको छ ।
डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको साथै नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उहाँको उपचार गरिरहेको समेत बताउनुभयो । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्णरुपमा नर्मल हुने संभावना भने न्यून रहेको बताउनुभएको छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ ।’ डा. जलानले भन्नुभयो– ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’
निशाको अवस्थालाई उहाँले ‘जनरल कण्डीसन इम्प्रूभ’ भएको अवस्थाकोरुपमा बुझ्न सकिने बताउनुभयो । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किनुभएको थियो । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उहाँ भारत जाँदा सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुुभएको थियो । दुर्घटनालगत्तै उहाँको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उहाँको बुबाआमाले छोरीलाई नेपालमै ल्याउनुभएको थियो ।
काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको तर, उहाँको अवस्थामा सुधार हुन सकेको थिएन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उहाँ घरमै थन्किनुभएको थियो ।
यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उहाँलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । नर्भिकले उहाँको उद्धार गरेपछि उहाँलाई आर्थिक सहयोग गर्नेहरुको समेत लहर नै चलेको छ । उहाँको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम धमाधम जम्मा भइरहेको उहाँको उद्धारका लागि समन्वय गरेका समाजसेवी दुर्गानाथ दाहालले जानकारी दिनुुभयो ।