Kath khabar
भूकम्पपीडितको गुनासो, ‘त्रिपाल पनि पाएका छैनौँ’

 

                  त्रिवेणी, कात्तिक २२ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

भूकम्पबाट रुकुमपश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौँ घरहरुमा पूर्ण रुपमा क्षति पुग्यो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१३ भल्माका ४१ वर्षीया हरिबहादुर ओलीको घर नि बस्नै नमिल्ने गरी भूकम्पले पूर्णरुपमा क्षति गर्‍यो । उहाँको घरमा क्षति गर्नुका साथै परिवारका चार सदस्य घाइते भएका छन् । घाइते हुनेमा हरिबहादुरसहित उहाँकी श्रीमती र दुई छोरा छन् ।

भूकम्पले भत्काएको घरमा आफूसहित पूरै परिवार पुरिएको हरिबहादुरले सुनाउनुभयो । “मरिन्छ कि भन्ने लागेको थियो धन्न बाचियो । स्थानीयवासीले रातिनै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो । स्थानीयवासीले तत्काल पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भइयो”, उहाँले भन्नुभयो ।

उपचारका लागि चारै जनालाई नगर अस्पताल राडी पुर्‍याएको थियो । अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएको ओलीले बताउनुभयो । घर फर्किएपछि सरकारले दिएको राहतको नाममा एउटा त्रिपालबाहेक अन्य कुनै सामग्री नपाएको उहाँले गुनासो गर्नुभयो ।

“राहतको नाममा त्रिपाल आयो । एउटा घरमै त्रिपाल थियो । अहिले राहतको असमा त्रिपाल मुनी बसिरहेका छौँ । चिसो बढेकाले रात कटाउन निकै मुस्किल भइरहेको छ”, ओलीले भन्नुभयो, “अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ । राहतको पर्खाइमै छौँ । पालिकामा धेरै सामग्री आएको छ भन्ने सुन्छु । हामीले त त्रिपाल बाहेक केही पाएका छैनौँ ।” घर नजिकै पसल भएकाले उधारोमा चामल, दाल, तेल, नून लिएर खाइरहेको उहाँले बताउनुभयो ।

“राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन”, ओलीले भन्नुभयो, “सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।” वडामै नौ जनाको मृत्यु भएको हुँदा आफ्नो घर पूर्णरूपमा क्षति भए पनि परिवार बाँच्न सफल भएकोमा खुसी लागेको उहाँले सुनाउनुभयो । वडा नं १३ मा मात्रै चार सय तीस घर पूर्णरुपमा क्षति भएका वडा कार्यालयले जनाएको  छ ।

एक सय सत्र घर आंशिक क्षति भएको र ५५ घर सामान्य क्षति भएको वडा सचिव चक्रबहादुर डिसीले जानकारी दिनुभयो । उहाँ अनुसार पूर्णरुपमा क्षति भएका घरपरिवारका लागि त्रिपाल मात्रै आएको र अन्य खाद्यान्न सामग्री आइनसकेको उहाँले बताउनुभयो । “आंशिक क्षति भएकाले भने त्रिपालसमेत पाएका छैनन् । पालिकाबाट राहत सामग्री आएपछि वितरण गर्नेछौँ”, डिसीले भन्नुभयो । उहाँका अनुसार मृतकका परिवारले रू २५ हजार किरिया खर्चसहित खाद्यान्न सामग्री पाइसकेका छन् ।

राहत वितरणको काम भइरहे पनि सबै ठाउँमा राहत वितरण गर्न नसकिएको नगर प्रमुख रवि केसीले स्वीकार गर्नुभयो । भूकम्पमा परी रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको थियो भने भौतिक संरचना पनि ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update