
वाग्मती, ११ असार । मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
एक हजार बढी सङ्ख्यामा कोभिड-१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइएको प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयलेसमेत बार अनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उहाँले बताउनुभयो । प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ । (रासस)