Kath khabar
सर्वोच्चले टिकटक प्रतिबन्ध विरूद्धको रिट आज हेर्न नभ्याउने

 

                काठमाडौं, मंसिर ४ ।  सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरूद्धका रिट आज हेर्न नभ्याउने भएको छ।न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सर्वोच्चको वेभ साइटमा उल्लेख छ।

समय अभावका कारण इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको हो। आज न्यायाधीश कुमार चुडाललाई छुट्टा छुट्टै दुईवटा इजलास परेका थिए।

एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर उनले मुद्दा हेर्नुपर्ने थियो। तर सर्वोच्चको वेवसाइटमा उल्लेखित जानकारी अनुसार संयुक्त इजलासले सुनुवाई थाल्यो। उक्त इजलासमा परेका मुद्दाहरू नसकिएपछि एकल इजलास नै बस्न नभ्याएको देखिन्छ। 

कुमार चुडालको एकल इजलासमा परेका सबै मुद्दाहरू आज हेर्न नभ्याइने सर्वोच्चले वेभसाइट मार्फत जानकारी दिएको छ। गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोक बहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल 'स्वागत', अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दिएका थिए। 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update