
लमजुङ, मंसिर १४ । नेपालमा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको समलिङ्गी विवाह दर्ता गरिदिएको हो ।
गाउँपालिकाले विवाह दर्ता गरी जारी गरेको प्रमाण पत्रमा सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको उल्लेख गरिएको छ।
गुरुङ पारलैङ्गिक महिला हुन् । कानुनले उनलाई पुरुषका रूपमा चिन्दछ । पाण्डे पनि पुरुष नै हुन् । उनीहरूको विवाह सन् २०१७ मा हिन्दू परम्पराअनुसार भएको थियो र सर्वोच्च अदालतको आदेशपछि गत असारमा उनीहरूले काठमाडौँ जिल्ला अदालतमा पहिलो पटक विवाह दर्ता गराउने प्रयास गरेका थिए । तर माया गुरुङ र सुरेन्द्र पाण्डेको वैवाहिक जोडीलाई उक्त अदालतले एक जना कानुनी पुरुष र एक जना कानुनी महिला नभएको जोडीलाई मान्यता दिन आवश्यक नभएको भन्दै उनीहरूको विवाह दर्ता गर्न अस्वीकार गर्यो ।
त्यसपछि उनीहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई गुहारेका थिए । सर्वोच्चको अन्तरिम आदेश अनुसार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको थियो। त्यसका आधारमा आज गाउँपालिकाले समलिंगी विवाह दर्ता गरेका हुन् ।
उनीहरूको विवाह दर्ता प्रमाणपत्रमा ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेखमा रहने गरी जारी गरिएको भनेर उल्लेख गरिएको छ।