
ललितपुर, मंसिर १४ । १ वर्ष अघि पहिलो चरणअन्तर्गत ६६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको ललितपुरले आज (बिहीबार) देखि थप १ हजार ४ सय लाइट बाल्दै छ । यी बत्तीले बाँकी रहेका चोक र सडक समेत झलमल्ल हुने महानगरको विश्वास छ ।
महानगरका मेयर चिरिबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले आज यी १ हजार ४ सय लाइटको संयुक्त रूपमा उद्घाटन गर्दै छन् । पहिलो चरणमा महानगरले ५ करोड खर्चिएर मुख्य सडकमा स्मार्ट बत्ती बालेको थियो । जसमा कुपन्डोल देखि सातदोबाटो, पाटनढोका, पाटन दरबार स्क्वायर र जावलाखेल एकान्तकुना रुटमा स्मार्ट बत्ती जडान गरेको थियो ।
दोस्रो चरण अन्तर्गतका १ हजार ४ सय बत्ती मध्ये महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी छ । यस चरण पछि ललितपुरका सबैजसो मुख्य सडक झिलिमिली हुनेछन् । दोस्रो चरणमा सातदोबाटो-हरिसिद्धि, धापाखेल-सुनाकोठी, भैँसेपाटी-बुङमती, खोकना लगायत क्षेत्रका सडकमा जडान हुनेछन् । लाइट जडानका लागि डिजाइन र टेक्निकल सपोर्ट प्राधिकरणले नै गरेको छ । १ हजार ४ सयवटा लाइट जडानमा महानगरको ८ करोड र प्राधिकरणको करिब ६ करोड गरी करिब १४ करोड खर्च भएको छ ।
मेयर चिरिबाबु महर्जनका अनुसार स्मार्ट लाइट जडान यतिमै सीमित रहनेछैन । उनले भने, ‘भित्री तथा मुख्य चोकमा अझै बत्ती जडान गर्छौँ । यसप्रकारको लाइटले सडक झिलिमिली पार्छ, सहरी सुन्दरता बढाउँछ। अर्कातर्फ दुर्घटना न्यूनीकरण, सवारी तथा बटुवा ओहोरदोहोरमा सहजता र हुन्छ ।'