काठमाडौं, मंसिर १५ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
अभियुक्तहरूले दायर गरेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।
अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने सम्भावना रहेको जानकारी दिए । मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस गरेपछि सकिएको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २२ जनाविरुद्ध मुद्दा चलेको थियो ।
थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पुनरावेदन दिएका हुन् । उनीहरूले आफूहरूलाई थुनामुक्त गर्न माग गरेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।