Kath khabar
पर्सा प्रहरीद्वारा नौ हजार गाँजाको बोट फँडानी 

 

                   पर्सा, पुस ३ ।  पर्सा प्रहरीले लागुऔषध गाँजा फँडानी अभियानका क्रममा ९  हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यस विरुद्ध अभियान चलाएको हो ।

अभियान अन्तर्गत अहिलेसम्म जिल्लाको विभिन्न ठाउँमा झन्डै ९ हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका-३ रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका-४ र ५ देउरिया र डेकुलीमा स्थानीयवासीले अवैध रूपमा लगाएका ६ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय ठोरी, इलाका प्रहरी कार्यालय औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीयवासीले झन्डै ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले जानकारी दिनुभयो ।

यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका-३ झबराहामा झन्डै डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा झन्डै १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरेको थियो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले ठोरी गाउँपालिका-३ र ४  मा स्थानीयवासीले १० कट्ठा खेतमा अवैध रूपमा लगाएका गाँजा र जिराभवानी गाउँपालिका-१ मा ६ कट्ठा एक धुर जग्गामा लगाएको गाँजाको बोट फँडानी गरी नष्ट गरेको थियो ।

पर्साको ठोरी, पर्सागढी, बहुदरमाई, पोखरिया लगायत ठाउँहरूमा गाँजा खेती भइरहेको छ । अवैध रूपमा गाँजाखेती फस्टाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको र अन्य ठाउँमा पनि गाँजा फँडानीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयका डीएसपी थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update