Kath Khabar
घाँस काट्न गएका बृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

गलकोट, १४ असार । बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक बृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता हुनुभएको छ । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराउनुभएको परिवारले जनाएको छ । हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट जानुभएका उहाँलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुरसहितको प्रहरीको विशेष प्राविधिक टोली झिकाएर शनिबारदेखि खोजी कार्यलाई थप तीव्र पारिएको छ । पोखराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ‘रेस्क्यू र क्याकर डग’ सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ । बुढाथोकीले लगाएका कपडा सुँघाएर र उहाँ गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायब निरीक्षक विक्रमबहादुर थापाले बताउनुभयो । थापाका अनुसार दुई कुकुरले फरक mरक जिम्मेवारीअनुसार काम गर्नेछन् ।

जिल्ला प्रशासन र प्रहरी कार्यालयबबाट समेत प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली पनि घटनास्थलमा पुगेको छ । पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाइने थापाको भनाइ छ । 

(रासस)

 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update