Kath khabar
प्रहरीको गोलीबाट मृत्यु भएका जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

 

                    सर्लाही,  पुस २२ । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै रहेको छ ।

नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् । जिल्ला प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको अवस्थामा समेत प्रदर्शनकारीहरूले शवसहित प्रदर्शन गरेका थिए ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए ।  घटनाका विषयमा गृह मन्त्रालयले पनि छानविन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तर पीडित परिवार र प्रदर्शनकारीहरूले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन् ।

शनिबार नै गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो । आज बिहान पुनः आन्दोलनरत पक्ष, मृतक परिवारका सदस्यसहित इलाका प्रशासन कार्यालय बरहथवामा छलफल हुँदैछ ।

उक्त घटनामा गोली चलाएको आरोपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला तानिएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update