Kath khabar
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन


                  काठमाडौं, माघ १७ ।  पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना हटाउन पर्यटनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा भएको कोषको बोर्ड बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकको एजेन्डा माथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा व्यावसायिक संरचनाहरू सञ्चालन भइरहेको भन्दै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिए । कानुनी प्रक्रिया पुर्‍याएर अवैध संरचना तत्काल खाली गराउने मन्त्रीको निर्देशन बमोजिम बोर्डले निर्णय गरेको बताइएको छ ।

पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका-८, गाँचापोखरीस्थित साबिक कित्ता नम्बर ९३ बाट हालको कित्ता नम्बर १०२, ३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३ को ३ रोपनी ६ आना १ पैसा जग्गा व्यक्तिले हडपेर घर/भवन बनाई भोगचलन गर्दै आएका छन् । 

यस्तै, वडा नम्बर ३ भगवानस्थानमा साबिक कित्ता नम्बर ५१ बाट हालको कित्ता नम्बर १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको बताइएको छ । सिफलस्थित लामपोखरी रहेको कित्ता नम्बर १३५, १८० र ८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएका छन् । यी जग्गामा रहेको संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने निर्णय बोर्डले गरेको छ । 

बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरका मेयर बालेन साहले प्राविधिक मूल्यांकन आएको एक घण्टा भित्र अवैध संरचना खाली गर्ने बताएको पर्यटन मन्त्रालयको सचिवालयले जनाएको छ । यस्तै, कोषको नाममा देशभरि रहेका जग्गा खोज्न समिति गठन गर्नेसमेत निर्णय भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update