Kath khabar
सीजी होल्डिङ्सका अध्यक्ष विनोद चौधरीका भाइ अरुण चौधरी लाजिम्पाटबाट पक्राउ 

 

                 काठमाडौं, माघ १८ ।  विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ ।

चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ ।चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताईन् । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो । त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

यो विषयमा अख्तियारको अनुसन्धानमा उजुरी परेको थियो । तर, अख्तियार यो विषयमा अघि नबढेपछि सीआइबीले अनुसन्धान अघि बढाएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update