Kath khabar
अरूण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई चार दिन हिरासतमा राख्न आदेश

 

                 काठमाडौं, माघ १९ ।  जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरूण चौधरी, छालाजुुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको हिजोको इजलासले उनीहरुलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरुलाई हिजो पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । प्रहरीले उनीहरु माथि कीर्ते मुद्दामा अनुसन्धान गर्ने भएको छ ।

कीर्ते कागजपत्र पेस गरी १० रोपनी जग्गा हडपेको सीआईबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

यसैबीच व्यवसायी अरुण चौधरीलाई कीर्ते मुद्दामा पक्राउ गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले आपत्ति जनाएका छन् । प्रतिष्ठित व्यवसायीलाई विना सूचना पक्राउ गरिएको भन्दै परिसङ्घले असन्तुष्टि जनाएको हो ।

यस्तै, महासङ्घले पनि आर्थिक समस्यासँग जुधिरहेको बेलामा उद्योगी व्यवसायीमाथि सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update