Kath khabar
सितापाइला घटनाः मुख्य कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'!

 

                   काठमाडौं, फागुन १० । बुधबार काठमाडौंको नागार्जुन नगरपालिका–६ सितापाइलामा एक पुरुषले श्रीमती र छोरी र नतिनीको हत्या गरेर आत्महत्या गरे ।

सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१० घर भई हाल सितापाइला भैरव टोलमा डेरा गरी बस्ने ३७ वर्षीय राजु घिमिरे (काजी विकले श्रीमती ३८ वर्षीया ईश्वरी श्रेष्ठ (प्रेमकुमारी श्रेष्ठ), आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र अढाई वर्षीया नातिनी शिवानी श्रेष्ठको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ईश्वरीले राजुसँग दोस्रो विवाह गरेकी थिइन् । हत्या गरिएकी अढाई वर्षीया नातिनी उनको पहिलो श्रीमानपट्टीका छोराकी छोरी हुन् । प्रहरीका अनुसार ईश्वरीका पहिलो श्रीमानपट्टीका छोराबुहारी पनि ईश्वरी र राजुसँगै सितापाइलामै बस्दैआएका थिए । छोरा भने हाल विदेशमा थिए, बुहारी बुधबार बिहानै काममा बाहिर निस्किएकी थिइन् । घरमा राजु र ईश्वरीबाट जन्मिएका १५ वर्षीय छोरा अनिश, आठ वर्षीय छोरी अनिशा र नातिनी शिवानी थिए।

राजुले बिहान छोरा अनिशलाई सामान किन्न बाहिर पठाएर श्रीमती, छोरी र नातिनीको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

हत्यालगत्तै अनिश डेरा आइपुगिसकेका थिए । त्यसपछि अनिशलाई मोबाइलमा भिडिओ रेकर्ड गर्न लगाएर राजुले हत्याको साबिती बयान दिएको प्रहरीले जनाएको छ । भिडिओमा उनले आफन्त, विदेशमा रहेको छोरा, बुहारी लगायतलाई सन्देश दिएको जनाइएको छ ।

भिडिओ खिचेलगत्तै राजु डेराबाट आत्महत्या गर्न जाने भन्दै डोरी लिएर निस्किएका थिए । सोही क्रममा उनले ससुराली (ईश्वरीका माइती) पट्टीका आफन्तलाई पनि आफूले श्रीमती, छोरी, नातिनीको हत्या गरेको र आफू आत्महत्या गर्न हिँडेको भन्दै टेलिफोनमार्फत सन्देश दिएका थिए।  उता छोरा अनिश पनि हतारिँदै नजिकै रहेको मावली गएका थिए ।

ईश्वरीका माइतीले यस्तो सन्देश पाएलगत्तै प्रहरीलाई खबर गरेको थियो । सूचनालगत्तै प्रहरी टोली र आफन्त पुगेको थियो । कोठमा मृतकको शव फेला परेपनि राजु भने भेटिएका थिएनन् । करिब ११ः४० बजे उनी नागार्जुन नगरपालिका–५ ह्वाइट गुम्बा जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

राजुले श्रीमती, छोरी र नातिनीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ। ‘घटना विवरण हेर्दा र प्राप्त प्रमाणका आधारमा घटनामा लगभग राजुबाटै भएको देखिन्छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीले भने, ‘प्रहरीले अझै विस्तृत अनुसन्धान गरिरहेको छ ।’

१७ वर्ष अगाडि प्रेमविवाह गरेका काजी र ईश्वरी श्रेष्ठको पहिलो श्रीमानतर्फ एक छोरा छन् । छोरा वैदेशिक रोजगारीमा रहेको बताइएको छ । ईश्वरी श्रीमान, छोरा, छोरी, पहिलो श्रीमानपट्टिको बुहारी र नातिनीसँगै बस्दै आएकी थिइन्।

कारण बलात्कारको मुद्दा र पुरुष ‘इगो’ !
चारजनाको ज्यान जानेगरी भएको यो घटनाको सम्भावित कारण ‘बलात्कार’सँग पनि जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनामा हत्या गरेको अवस्थामा फेला परेकी ईश्वरीले केही समयअघि आफू बलात्कृत भएको भन्दै एकजना ५१ वर्षीय पुरुषविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

बलात्कार भएको भनिएको दुई महिनापछिको जाहेरीमा अभियुक्तलाई प्रहरीले मुद्दा चलाएको थियो । यो मुद्दामा फागुन १ गते जिल्ला अदालत काठमाडौंले अभियुक्तलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यही बलात्कार घटनाले पुरुष ‘इगो हर्ट’ भएर राजुले उक्त घटना घटाएको हुनसक्ने घटनाको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीले अनुमान गरेका छन् । ‘कहीँ न कहीँ यो घटनाको कारण त्यो बलात्कार मुद्दासँग पनि जोडिएको हुनसक्छ । त्यसअघि उहाँहरूबीचमा कुनै त्यस्तो ठूलै विवाद वा झैझगडा भएको देखिन्न,’ बलात्कार घटना र बुधबारको घटनामा अनुसन्धान गरिरहेका एकजना प्रहरी अधिकारी भन्छन्, ‘बलात्कारको घटनापछि पुरुष इगो हर्ट भएको हुनसक्छ । हिजो(मंगलबार) राति त श्रीमान–श्रीमतीबिचमा केही झगडा पनि भएको देखिन्छ ।’

यद्यपि बलात्कार मुद्दाका बेला भने दुवैले सँगै आएर जाहेरी दिएको, न्यायिक प्रक्रियामा सँगसँगै हिँडेको देखिएको ती अधिकारी बताउँछन् । (नागरिक दैनिकबाट)

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update