
काठमाडौं, असार १७ । नेपाल वायुसेवा निगमले आफ्नो ६३ औं वार्षिकोत्वस आज एक सामान्य कार्यक्रमका साथ संक्षिप्त रुपमा मनाएको छ । सो अवसरमा महाप्रवन्धक डिम प्रसाद पौडेलले बीस वर्षे सेवा अवधि पुरा गरेका चारजना कर्मचारीहरुलाई पदक र सम्मानपत्र प्रदान गर्नुभयो ।
आज दीर्घसेवा पदक पाउनुहुनेहरुमा वरिष्ठ पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्जल सिलवाल हुनुहुन्छ । महाप्रवन्धकले निगमका कर्मचारीहरुले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा हार्दिक सरहना व्यक्त गर्दैै भविष्यमा आइपर्ने समस्याहरुमा डटेर योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । विगतमा आर्जन गरको प्रतिष्ठामा केही धुमिल अवस्था देखिएको छ भन्नुहुँदै महाप्रवन्धकले त्यसका लागि आन्तरिक मात्र नभै बाह्य कारणको पनि भूमिका रहेको उल्लेख गर्नुभयो । महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमानहरु किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताउनु भयो ।
उहाँले नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको छ र त्यसमा निगम भित्रको सामुहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यावसायिकता सहित अघि बढन आव्हान गर्नुभयो ।