Kath Khabar
नारायणगढ–बुटवल खण्ड एकतर्फी सञ्चालनमा

नवलपुर, १८ असार । पूर्व-पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्ड अन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहान आएको बाढीले गैँडाकोटको थुम्सीदेखि मुकुन्दपुरसम्मका चार वटा डाइभर्सन बगाएको थियो । बगेको डाइभर्सनमध्ये तीन स्थानमा पुरानै डाइभर्सन मर्मत गरिएको भए पनि गैँडाकोट-१० को २३ स्मृति पुलमा नयाँ ठाउँबाट डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । बिहीबार बिहान १०ः३० बाट अवरुद्ध सडक साँझ मोटरसाइकल सञ्चालन गर्ने गरी डाइभर्सन गरिएको भए पनि केहीबेरमै पुनः अवरुद्ध बनेको थियो ।

सडक विस्तारका क्रममा पुराना पुल भत्काएर नयाँ ठूला पक्की पुल बनाउनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट क्षेत्रमा सात वडा डाइभर्सन निर्माण गरिएका थिए । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नारायणगढ बुटवल सडक विस्तार आयोजना मिलेर २३ स्मृति पुलको दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाई एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको खनालले बताउनुभयो । पुलको उत्तरतर्फ रहेको पुरानो डाइभर्सनलाई मर्मत गरेपछि मात्रै दुईतर्फी सवारीसाधन सञ्चालन गराउन सकिने उहाँको भनाइ छ ।

नयाँ डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएपछि एम्बुलेन्स र साना सवारीसाधनलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा आएपछि सडकमा सवारीसाधनको चाप विस्तार घट्दै गएको छ । सडक अवरुद्ध हुँदा नवलपुर हुँदै पश्चिम जाने सवारीसाधन गैँडाकोट र पूर्वतर्फ जाने सवारीसाधन डण्डामा नै रोकिएका छन् ।  (रासस)

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update