Kath Khabar
अविरल बर्षाकाकारण देशभर बाढी पहिरोको बितण्डा

काठमाडौं, असार १८। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, नौ जना महिला, तीन जना बालक र तीन जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पामा तीन जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुुई, दुई जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक, एक जना रहेका छन् ।

 यसैगरी बाढीपहिरो र डुबानमा परी हालसम्म ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, छ जना बालक र तीन जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा पाँच, पाँच जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीन, तीन जना, जुम्ला र गोरखामा दुई, दुुई जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक, एक जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, छ जना महिला, दुई जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ।

बाढी तथा पहिरोमा परेका एक हजार दुुई सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६ जना, चितवनमा चार सय दुुई जना, सिन्धुपाल्चोकमा एक सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट आठ, आठ जना, जाजरकोटमा सात जना, गोरखा र दाङमा चार, चार जना र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

 पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरा लगायतका स्थानहरुमा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

बाढीको कारण हालसम्म तीन सय ९७ वटा घर डुबानमा परेका छन् । चार सय ९१ वटा घर, ८४ वटा गोठ, ३८ वटा पुल, तीन ओटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ४३ वटा घरका चार हजार नौ सय ५५ जना मानिस विस्थापित भएका छन् भने आठ सय दुुई वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा तीन सय ३० वटा विपद्का घटना भएका छन् । 
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जानकारी दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update