
काठमाडौं, असार १९ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, चार जना बालक र तीन जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पा र गोरखामा तीन, तीन जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई, दुई जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक, एक जना रहेका छन् ।
बाढीपहिरो र डुबानमा परी ५१ जना घाइते भएका छन् । ती मध्ये २७ जना पुरुष, १२ जना महिला, नौ जना बालक र तीन जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा पाँच, पाँच जना, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा तीन तीन जना, जुम्ला र गोरखामा दुुई दुुई जना, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक एक जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, छ जना महिला, दुुई जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ।
बाढी तथा पहिरोमा परेका एक हजार दुुई सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६ जना, चितवनमा चार सय दुुई जना, सिन्धुपाल्चोकमा एक सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट आठ आठ जना, जाजरकोटमा सात जना, गोरखा र दाङमा चार चार जना र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।
पहिरो तथा बाढीको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण सिन्धुली, धादिङ, काभ्रे, गोरखा, लमजुङ, खोटाङ लगायतका स्थानहरुमा शनिबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।
बाढीको कारण सात सय ९० वटा घर डुबानमा परेका छन् । पाँच सय १९ वटा घर, ९० वटा गोठ, ३९ वटा पुल, तीन वटा विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ५७ वटा घरका पाँच हजार एक सय एक जना मानिस विस्थापित भएका छन् भने आठ सय १८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा चार सय वटा विपदका घटना भएका छन् ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।