Kath Khabar
गोरखामा पहिरोमा परी श्रीमान श्रीमतीकै मृत्यु

काठमाडौं, असार १९ । गोरखाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरे बस्ने ८० वर्षीय रमन पाण्डे र उहाँकै श्रीमती ७० वर्षीया नन्द कुमारी पाण्डेको पहिरोमा पुरिएर शनिबार बिहान मृत्यु भएको छ । ढुङ्गा माटोले बनेको कच्ची घर माथिबाट पहिरो खस्न गई घर पुरिएको र उहाँहरु दुवै जना सम्पर्कमा नआएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।

यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलास्थित सडकमा वर्षाका कारण गएराती आएको पहिरोमा परी भारत घर भएकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको छ । पहिरोमा परी सडकमा गुडिरहेको बा.१२ च ७१५६ नम्बरको म्याजिक सहित ५ ओटा सवारी साधनमा क्षति भएको तथा टिएन २८ एए ०१२० नम्बरको ट्रकमा सवार २ महिला र २ पुरुष घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले ४ जना घाइतेलाई उद्धार गरी उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाएकोमा सोनी देवीको उपचारको क्रममा मृत्यु भएको हो ।

साथै सोही स्थानमा पहिरो सँगै झरेको ढुंगाले लागेर ना.८ ख ४५४० नम्बरको ट्रकको अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी १९ वर्षीय पुरुषको शव शनिबार बिहान फेला परेको छ । पहिरो गएको स्थानहरुमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उद्दार कार्य गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update