Kath khabar
वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर


                   वीरगञ्ज, चैत २३ । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ ।

वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म  ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ । भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उहाँहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । “यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताउनुभयो । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी  स्टल रहने उहाँले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री राखिनेछन् । वीरगञ्ज महानगरपालिकाले अघिल्लो वर्ष पनि नयाँ वर्षका अवसरमा रात्रि बजार सञ्चालन गरेको थियो ।

उद्योगलाई रु २० हजार जरिवाना
यसैबीच, संयुक्त बजार अनुगमन टोलीले वीरगञ्जस्थित शक्तिमान बेकरी एण्ड फुड प्रडक्ट्सलाई रु २० हजार जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्ज पर्साका प्रमुख सुरेशकुमार सिंहको नेतृत्वको संयुक्त अनुगमन टोलीले उद्योगभित्र सरसफाइमा लापर्वाही भएको र उत्पादित सामग्रीको उत्पादन तथा उपभोग गरिसक्नुपर्ने उल्लेख नभएको पाइएपछि जरिवाना गरिएको हो ।

उद्योगको मापदण्ड पूरा नगरेको र उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर लापर्वाही गरेको पाइएकाले रु २० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिनुभयो । उक्त उद्योगले अनुगमन टोलीले मागअनुसारको आवश्यक कागजात र बिल देखाउन नसकेको र अनुगमनमा असहयोग गरेकोले जरिवाना गरी तीन दिनभित्र कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update