Kath Khabar
बाढीपहिरो र डुबानमा परी हालसम्म ४४ जनाको मृत्यु

काठमाडौं, असार २३ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार  दिउँसोसम्म ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २४ जना पुरुष, १३ जना महिला, चार जना बालक र तीन जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पा र गोरखामा तीन, तीन जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा दुई, दुई जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक, एक जना रहेका छन् । पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका–५ छिस्बाङस्थित थम बहादुर बुढाथोकीको घर बाढीले भत्किँदा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकै श्रीमती १९ वर्षीया बिना रोकाको मृत्यु भएको छ ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ६० जना घाइते भएका छन् । तीमध्ये ३२ जना पुरुष, १४ जना महिला, १० जना बालक र चार जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा पाँच, पाँच जना, धनुषा र सर्लाहीमा चार, चार जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा तीन, तीन जना, जुम्ला, चितवन र गोरखामा दुई, दुुई जना, पाँचथर, रौतहट, स्याङ्जा,  हुम्ला, अछाम, दार्चुला, बाजुरा र सल्यानमा एक, एकजना रहेका  छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, छ जना महिला, तीन जना बालक र एकजना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना, पर्वत दुई जना तथा बाजुरा र बाग्लुङमा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीपहिरोमा परेका एक हजार दुुई सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६ जना, चितवनमा चार सय दुई जना, सिन्धुपाल्चोकमा एक सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट आठ, आठ जना, जाजरकोटमा सात जना, गोरखा र दाङमा चार, चार जना र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । 

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण रसुवा, मुस्ताङ, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, कास्की लगायतका स्थानहरुमा बुधबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

बाढीको कारण एक हजार चार सय २८ वटा घर डुबानमा परेका छन् । पाँच सय ४५ वटा घर, ९७ वटा गोठ, ३९ वटा पुल, तीन वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ३६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा चार सय ९६ वटा विपद्का  घटनाबाट एक हजार एक सय ५४ वटा घर परिवारका पाँच हजार ३ सय ८५ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update