Kath khabar
इजरायलमा मर्मत सम्भार सकिएर काठमाडौं आइपुग्यो नेपाल वायुसेवा निगमको जहाज


                  काठमाडौं, वैशाख १६ । नेपाल वायुसेवा निगमको ९एन –ए के एक्स जहाज आवश्यक मर्मत पश्चात् इजरायलबाट दुबई हुँदै मिति २०८१ बैशाख १५ गते शनिबार साँझ ९ः५६ बजे काठमाडौं अवतरण भएको छ ।

उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आई इजरायल स्थित नियमानुसार छनौट भएको मेन्टिनेन्स एण्ड रिपियर अर्गनाईजेशन–एमआरओ मा मर्मत भइरहेको थियो ।

मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य  प्राविधिक समस्याहरुको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इन्जिनियरहरू एवं प्राविधिकहरूको प्रतिवेदन अनुसार सो सँग सम्बन्धित पार्टपुर्जाहरुको बजारमा अभाव भएको तथा युद्ध प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाई हुन पुगेको देखिएता पनि वर्तमान नेतृत्व, प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरूको लगातारको अथक प्रयासबाट युद्ध प्रभावित क्षेत्र भएको अवस्थामा समेत इन्जिनको सकेसम्म छिटो मर्मत गराई जहाज उडान योग्य भएको छ ।

उक्त जहाज पूर्व निर्धारित समय अनुसार २०८१ बैशाख १० गते नै मर्मत सकी उडान भर्ने तालिका रहेको तर पछि लेन्डिङ गेयरको अल्टरनेट ब्रेकिङ सिस्टममा प्राविधिक समस्या देखिएकोले सोको लागि चाहिने पार्टपुर्जा सम्बन्धित आपूर्ति कर्ता एमएस ए.जे वाल्टर मार्फत अमेरिकाको मायामीबाट इजरायलमा ल्याई जडान गरी उडानयोग्य बनाउन केही ढिलाई हुन पुगेको हो ।

यस कार्यमा इजरायल स्थित नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयको लागि निगमले हार्दिक  आभार प्रकट गरेको जानकारी दिएको छ । गिमका अनुसार जहाजको इन्जिन मर्मतमा ढिलाई हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौता अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।

मर्मत पश्चात निगमको जहाज नियमित उडानमा आएपछि यात्रुहरुको माग र बजार चापलाई अझ सशक्त ढंगले सम्बोधन हुने कुरामा निगम विश्वास दिलाउन चाहन्छ, निगमले भनेको छ ।  
 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update