Kath khabar

धरान, वैशाख २१। धरान उपमहानगरपालिका— १४ विजयपुरका बृखबहादुर डंगोलले ९०औँ जन्मदिनको अवसरमा रु. एक करोड बराबरको जग्गा दान गर्नुभएको छ ।

उहाँले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहनुभएको  ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई रु. एक करोड बराबरको ११ धुर जग्गा प्रदान गर्नुभएको हो ।

‘प्राडा टङ्क प्रसाद न्यौपानकोे अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअगाडी स्थापना भएको थियो भने, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो ।

संस्था दर्ता गराए पनि व्यवस्थित रुपमा कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा डंगोलले जग्गा दान गर्नुभएको प्राडा न्यौपानेले बताउनुभयो । डंगोलले प्रदान गर्नुभएको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्र्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोमा रहेको छ ।

९० वर्षीय डंगोलले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफूले जग्गा दान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आफूसँग धेरै जग्गा भएर नभई भावी पुस्तालाई अध्ययन अनुसन्धानमा सहजता होस् भनेर आफूले जग्गा दिएको प्रतिक्रिया दिनुभयो ।  डंगोलले धरानका विद्यालय, प्रहरी चौकीलगायत विभिन्न संघसंस्थालाई नगदी र जिन्सी सहयोग गर्दै आउनुभएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update