Kath Khabar
निशा घिमिरे भेन्टिलेटर मुक्त, अवस्थामा सुधार

काठमाडौं, असार २४ । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गर्नुभएकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहनुभएकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ ।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गर्नुभएको थियो । नर्भिकले सुरुवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम नै खटाइदिएको छ । कलाकार निशा घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भएको थियो । रक्तश्रावका कारण श्वास फेर्न कठिनाई भएपछि उहाँलाई भेन्टिलेटरमा राख्नुपरेको थियो । आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उहाँको अवस्थामा सुधार भएको थियो, फलस्वरुप असार २१ गते भेन्टिलेटरमा राखिएकी कलाकार घिमिरेलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको थियो । हाल उहाँ आफैंले श्वास फेरिरहनुभएको छ र गालाको भित्री भागमा टोकिएर बनेको घाउ समेत निको हुने क्रममा रहेको छ ।

बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको  चिकित्सकहरुले जनाएका छन् । हाल उहाँलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उहाँको उपचार गरिरहेको छ ।

अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहनुभएकी उहाँको अवस्था निकै सुधार भएको छ । उहाँले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहनुभएको छ । डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताउनुभयो । उहाँले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उहाँको उपचार गरिरहेको समेत बताउनुभयो । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ ।’ डा. जलानले भन्नुभयो–‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं ।’

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किनुभएको थियो । नर्भिकले उद्धार गरेपछि उहाँलाई सहयोग गर्नेहरुको समेत लर्को लागेको छ । उहँको परिवारजनले बनाएको अक्षयकोषमा लाखौं रुपैयाँ जम्मा भइसकेको छ ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उहाँ भारत जानुभएको थियो । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । दुर्घटना लगत्तै उहाँको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उहाँका बुबाआमाले छोरीलाई नेपालमै ल्याउनुभएको थियो । काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर तीन महिनासम्म उपचार गरिएको थियो । तर, उहाँको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उहाँ घरमै थन्किनु भएको थियो । यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उहाँलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैबाट पनि सहयोग आएको थिएन ।

 

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update